
काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्ने देशकै तेस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
बिहीबार झापा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुलको उद्घाटन गर्नुभएको हो ।
यससँगै पुल कोशी प्रदेशकै लामो पुल बनेको छ । बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथि निर्माण भएको ४७७ मिटर लम्बाइको झोलुङ्गे पुल बिहीबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । पुल उद्घाटन गर्दै महामन्त्री शर्माले पुल आवतजावतको लागि सहज मात्रै नभइ यसले स्थानीयवासीको जीवन बदल्ने विश्वास लिएको बताउनुभयो ।
अब बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ पुलले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने स्थानीयवासीको आशा छ । सोही आशा यथार्थमा परिणत हुने विश्वास आफूहरूले लिएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताउनुभयो ।
पुलमा अहिलेदेखि नै मानिसहरूको घुइँचो लाग्न थालेको छ । गत असार २४ गते झापा क्षेत्र नं १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री शर्माले पुलको शिलान्यास गर्नुभएको थियो । थानी जगदम्बा जेभी काठमाडौंले निर्माण गरेको झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसामा पारेको थियो । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भएपनि करिब ६ महिनामै उक्त काम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्