७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


इजरायल र हमास युद्धविराम नजिक


0
Shares

एजेन्सी । इजरायल र हमासका प्रतिनिधीबीच युद्धविरामका लागि कतारमा जारी बैठक युद्धविरामको सहमति नजिक पुगेको छ ।

अमेरिकी मध्यस्थतामा भइरहेको युद्ध विरामको आयोजक कतारी अधिकारीहरुले वार्ता सहमति नजिक पुगेको दाबी गरेका छन् । वार्ताका क्रममा ईजरायलले पनि युद्ध विरामका लागि आफुहरु तयार रहेको जनाएको छ ।

युद्ध विरामका बूँदाहरु सार्वजनिक नभए पनि तत्काल दुवै पक्षले आक्रमण रोक्ने र हमासले पहिलो पल्ट ३३ जना इजरायली बन्धकहरुलाई रिहा गर्ने छ । जसमा महिला, बालबालिका, वृद्धवृद्धा र अशक्तलाई प्राथमिकता दिइने छ ।

त्यसको बदलामा इजरायलले सयौं प्यालेस्टिनीहरुलाई रिहा गर्ने छ । यसको दुई सातापछि युद्ध विरामको दोस्रो चरण शुरु हुने र त्यति बेला हमासले थप बन्धकहरु रिहा गर्नुपर्ने गरी सहमति हुने संभावना रहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि युद्धविराममा चासो रहेको छ । बाइडेन आफू जानु अघि युद्ध विरामको जस लिने पक्षमा हुनुहुन्छ भने ट्रम्प आफ्ना कारणले युद्ध विराम भएको सन्देश दिन चाहनुहुन्छ ।

यसैबीच, युद्धविरामका लागि बैठक जारी रहेकै बेला इजरायलले गाजापट्टीमा व्यापक हवाई हमला गर्दा १८ जना मारिएका छन् । मारिनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् ।