
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज जारी हुने बताउनुभएको छ ।
बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरु समाधान गर्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताउनुभयो । उहाँले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशील कसरी बनाउने भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अध्यादेशहरु ल्याएसँगै काँग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैलाइएको बताउनुभयो । उहाँले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधामन्त्री ओलीले देश र जनताको मतलव नहुनेले राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताउनुभयो । विकास, सुशासनका कामहरु नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उहाँको टिप्पणी थियो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सबैभन्दा बढी जनता र देशका लागि, विकासका लागि केही गराँै भन्ने इच्छाशक्ति सरकारमा कम हुनाले नै यस्तो भएको हो । त्यस इच्छा शक्तिले व्यवस्थापन पक्षलाई सही ढंगले चुस्त, दुरुस्त बनाउने र देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशिल कसरी बनाउने ? त्यस दिशमा सरकारले सोच्नुपर्छ । त्यस कुरालाई नै हृदयंगम गरेर हामीले अहिले यी केही अध्यादेशहरु आएका छन् । यि अध्यादेशहरु कसरी आए ? एउटा बजार हल्ला छ, काँग्रेस र एमालेका नीति नमिलेर, विचार नमिलेर अब यो छिटै फुट्दैछ,सरकार छिटै ढल्दैछ, गिरिहाल्न आँट्यो यस्ता हल्ला छन् ।’
‘आज अर्को भूमि सम्बन्धी अध्यादेश पनि आउँछ । जसले भूमिमा भएका बेठिक खालका कतिपय कुराहरु छन्, ती कुराहरु नसुल्झिएका समस्याहरु छन्, ती सुल्झाउन ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो,
प्रधानमन्त्री ओलीले अहिले रहेको अस्तव्यस्त बनाउने नीतिहरु सच्याउने प्रयासमा सरकार लागेको बताउनुभयो । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्