
काठमाडौं । टिकटक कम्पनीले अमेरिकामा आफ्नो सेवा पुनः शुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि टिकटक कम्पनीले अमेरिकामा आफ्नो सेवा पुनः शुरु गरेको हो ।
टिकटक एपमाथि प्रतिबन्ध लाग्नु केही घण्टा अगाडिनै शनिबार रातिदेखि टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । आइतबार टिकटकले कि त अमेरिकी कम्पनीलाई बेच्नुपर्ने कि त सेवा बन्द गर्नुपर्ने कानुनको म्याद शुरु हुन लाग्दा शनिवारबाटै टिकटक बन्द भएको हो । अमेरिकाको संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो कम्पनी बाइटडान्डसको सेयर बेच्न भनेको थियो ।
अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानुन आएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि टिकटक उपलब्ध थिएन । यसका साथै चिनियाँ कम्पनी बाइटडान्सको अन्य एपहरु लेमन ८ र क्यापकट पनि थिएन ।
सोमबार शपथग्रहणको समारोह सकिएपछि ट्रम्पले टिकटकलाई प्रतिबन्ध गर्ने कानुन लागु हुन लम्ब्याउने प्रतिबद्धता जनाए र यसको केही समयपछि टिकटक कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा ल्याएको हो । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्