
काठमाडौं । बिहीबारदेखि सुरु हुने सभापति फुटबल प्रतियोगितामा सहभागी ८ मध्ये ६ टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।
नेपाली कांग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति, २०८१ को आयोजनामा बिहीबारदेखि दशरथ रंगशालामा सभापति कप सुरु हुँदै छ ।
खेलअघि पत्रकार सम्मेलनमा सहभागी ८ क्लबमध्ये ६ टोलीले उपाधि जित्ने दाबेदारी प्रस्तुत गरेका हुन् । बिहीबार उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिँड्दैछन् । संकटाका टिम अफिसियल राजुमान तुलाधारले युवा खेलाडीसहित राम्रो तयारी गरेको र टिम च्याम्पियन हुने लक्ष्य रहेको बताए । उनले टोलीका कप्तान दीप कार्की उपस्थित नहुने उल्लेख गरे । नेपालको यु–२० टोलीका सदस्य, राष्ट्रिय खेलाडी र विदेशी खेलाडीमा पिटर सेगुन रहेकाले टोली बलियो रहेको उनको विश्वास छ ।
चर्च ब्वाइजका टिम अफिसियल लबिस राईले यस सिजन चर्च ब्वाइजले मोफसलमा राम्रो गरिरहेको उल्लेख गर्दै टिम राम्रो नै रहेको बताए । उनले यस सिजन ७/८ गोल्डकप खेलेको र नतिजा पनि राम्रो आइरहेको उल्लेख गरे । त्यसैले पनि सभापति कप जित्नेगरी खेल्ने बताए । उनले ए डिभिजन लिग पनि छिट्टै हुने आशा गरे ।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ टोली टिमले प्रतिष्पर्धा गर्दैछन् । मच्छिन्द्र फुटबल क्लबमा प्रशिक्षक सन्तोष न्यौपानले धेरै पछि दशरथ रंगशालामा खेल्न पाउँदा खेलाडीहरू उत्साहित रहेको उल्लेख गर्दै प्रतियोगिताका लागि तयार रहेको बताए ।
मच्छिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले करिब एक महिनादेखि मोफसलका प्रतियोगिताहरू खेलिरहेको उल्लेख गर्दै सभापति कप जित्ने लक्ष्यसहित उत्रने बताएका छन् । उनले टोलीमा केही विदेशी खेलाडी थपिन सक्ने उल्लेख गरे । अधिकांश खेलाडी पुरानै रहेकोले टोली सेट रहेको उनको बुझाइ छ ।
सभापति कपमा खेल्ने एनआरटीका अफिसियलल सुरेन्द्रकुमार श्रेष्ठले पनि तयारी राम्रो भइरहेको विश्वाव व्यक्त गरे । उनले मोफसलमा खेलिरहेको टोली नै निरन्तरता दिने उल्लेख गदै उपाधि जित्ने दाबेदारी व्यक्त गरेका छन् । उनले अन्जन विष्टको कप्तानीमा टोलीले खेल्ने पनि उल्लेख गरेका छन् ।
विभागीय टोली एपिएफले मच्छिन्द्रसँग खेल्दै प्रतियोगिताको सुरु गर्ने छ । एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले प्रतिद्वन्द्वी धेरै राम्रो रहे पनि उनीहरूको टिमअनुरूप आफूले पनि तयारी गरेको बताएका छन् । उनले उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको पनि उल्लेख गरे । काठमाडौंमा धेरै पछि फुटबल फर्कदा उत्साहित रहेको उनले उल्लेख गरे ।
आयोजक टोलीका रुपमा बागमती क्लबले खेल्दैछ । बागमती क्लवका अफिसियल उज्वल श्रेष्ठले छोटो समयमा पनि राम्रो तयारी गरेको बताएका छन् । चार जना विदेशी खेलाडी रहेको श्रेष्ठले उल्लेख गरे । टिम राम्रो बनेकाले उपाधि दाबेदारी प्रस्तुत गर्ने उनको भनाइ छ ।
अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । यस प्रतियोगिता माघ १७ गतेसम्म हुनेछ ।
लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिकै आयोजनामा दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने जानकारी दिइयो । तीनदिने प्रतियोगिताको सिनियर र जुनियरतर्फ क्योरागीमा २० र पुम्सेमा ६ गरी २६ स्पर्धामा खेल हुनेछ ।
शिर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहराले जानकारी दिए । उत्कृष्ट पुरुष/महिला खेलाडी र निर्णायकलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ । नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्