
काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्धालाई हेर्दा हेर्दैमा राखेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलाशमा आजदेखि शुरु भएको थुनछेक बहस नसकिएपछि मुद्धालाई हेर्दाहेर्दैमा राखिएको हो ।
आज सरकारी वकीलको तर्फको बहस सकिएको छ । भोली न्यायाधीश योगीकै ईजलासमा सहकारी पीडित पक्षको बहस शुरु गर्नेछन् भने उनीहरुको बहस सकिएपछि लामिछानेको तर्फको बहस हुनेछ । आजको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । यस्तै उच्च सरकारी वकिल कार्यालयका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएका लामिछानेलाई अदालत बाहिरै बसेर बहस गर्ने सुविधा जिल्ला न्यायाधिश योगीले दिएका छन् । सरकारी वकिलको कार्यालयले लामिछानेसहित १४ जना विरुद्ध पुरक मुद्धा दर्ता गरेको हो । सोही प्रकरणमा गत बैशाखमा २८ जना विरुद्ध मुद्धा दर्ता गरिएको थियो । उनीहरु सबैलाई ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्