१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देश भू-राजनीतिक चक्रब्युहमा फस्ने खतरा बढेको अध्यक्ष लिङ्देनको दाबी


169
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक शुक्रबारदेखि सुरु भएको छ ।

बैठक राप्रकाका अध्यक्ष राजेन्द्र लिङ्देनको राजनीतिक प्रतिवेदनलगायतका विषयमाथि छलफल सुरु भएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित राप्रपा मुख्यालयमा बसेको बैठकको सुरुमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँको प्रतिवेदनमा मुलुक भू–राजनीतिक चक्रव्यूहमा फस्ने खतरा बढेको उल्लेख रहेको बुझिएको छ ।

संसदको पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने अनौठो अध्यास नेपाली राजनीतिमा भइरहेको भन्दै लिङ्देनले कांग्रेस र एमाले दुई दलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाउनुभएको छ ।

राजसंस्थासहितको बहुदलीय प्रजातन्त्रका लागि समान विचार भएका व्यक्ति, समूह र दलहरुसँग एकता वा सहकार्यका लागि मोर्चा बनाउने विषयमा पनि राप्रपा केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ ।

बैठकमा महामन्त्री राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको छ । यस्तै अर्का महामन्त्री डा. धवल शमशेर राणाले आन्दोलन सम्बन्धि कार्ययोजना पेश गर्नुभएको छ ।