
काठमाडौं । माघ १८ गतेबाट शुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ । आज सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरुका प्रमुख सचेतक/सचेतकहरुको बैठकले कार्यतालिका तयार पारेको हो ।
जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसदको बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो । उहाँकाअनुसार २५, २६ र २७ गते संसदीय समितिको बैठक बस्नेछ । यस्तै २८, २९ र ३० गते पुनः संसदको बैठक बस्नेछ ।
संसद सुचालु हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरुले संसदमा सम्बोधन गर्नेगरी तालिका बनाइ समय निर्धारण गरिएको बर्तौलाले बताउनुभयो । त्यस्तै संसदको पहिलो दिन नै अध्यादेशहरु सबै पेश हुने जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि शुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गर्नुभएको बताउनुभयो । उहाँले संसद सुचारु गर्नका लागि माघ महिनाको कार्यतालिकाका बारेमा पनि छलफल भएको बताउनुभयो ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकार सदनप्रति उत्तरदायी नभएको महशुस आफूहरुले गरिरहेको बताउनुभयो ।
सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलवार बिहान ११ बजेका लागि बोलाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्