
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताउनुभएको हो ।
वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि रहेको उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले मुलुकको विकासका लागि देशको परिवेशलाई सुहाउँदो प्रणाली अवलम्वन गर्न जरुरी रहेको बताउँदै उहाँले त्यो प्रणाली समाजवादी क्रान्ती नै भएको जिकिर गर्नुभयो । उहाँले जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत बताउनुभयो । प्रतिपक्षमा रहेका अन्य राजनीतिक पार्टीहरुलाई समेत समाजवादी मोर्चामा जोड्दै जानुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले समाजवादी मोर्चा समाजवादी विचारको आधारमा निर्माण गरिएको उल्लेख गर्दै सबै मिलेर मोर्चाको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्