८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएकाहरुले थुना बाहिरै बसेर सर्वोच्चमा मुद्दा लड्न पाउने


0
Shares

काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका प्रतिवादीहरुले थुना बाहिरै बसेर सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने भएका छन् ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू विनोद शर्मा, अब्दुल अजीज मुसलमान, सुनिलकुमार शर्मा र नृपध्वज निरौलाको बृहत् पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका प्रतिवादीले थुना बाहिरै रहेर सर्वोच्चमा मुद्दा लड्न पाउने गरी फैसला गरेको हो ।

विशेष अदालतबाट दोषी ठहर भएका रुद्रप्रसाद दाहालको मुद्दामा केही शर्तसहित यस्तो फैसला गरेको हो । दोषी ठहर भएको व्यक्ति ६ महिना थुनामा बसेको हुनुपर्ने र अदालतको अनुमति बिना विदेश जान नपाउने गरी राहदानी रोक्का राख्ने शर्तमा थुना बाहिरै रहेर मुद्दा लड्न पाउने आदेश सर्वोच्चले गरेको हो । सर्वोच्चको यो फैसलासँगै अब भ्रष्टाचारका अन्य मुद्दामा पनि यही फैसलाको पालना गरिनु पर्नेछ । यसअघि जिल्ला अदालत हुँदै उच्च अदालतबाट सर्वोच्च गएका प्रतिवादीहरूको हकमा थुनामा रहेर ६ महिनाभित्र फैसला नभए धरौटी वा तारेखमा रिहा भएर मुद्दा लड्न पाउने फैसला सर्वोच्चको नै थियो ।

यातायात व्यवस्था विभागका कर्मचारीसहित केही भ्रष्टाचार मुद्दामा ५ वर्षभन्दा माथि कैद भएका प्रतिवादीहरूले थुना बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने भन्दै निवेदन दिएका थिए । संयुक्त इजलासबाट विस्तृत व्याख्याका लागि बृहत् पूर्ण इजलासमा गएको उक्त मुद्दामा सर्वोच्चले थुना बहिरै रहेर मुद्दा लड्न पाउने फैसाल गरको हो ।

सर्वोच्चमा कर फस्र्योट आयोगको भ्रष्टाचारमा अध्यक्ष लुम्बध्वज महत तथा सदस्यद्वय चूडामणि शर्मा र उमेशप्रसाद ढकालको मुद्दा पनि विचाराधीन छ ।