१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाले आप्रवासीलाई थुन्न क्युबामा कारागार विस्तार गर्ने


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामा रहेको बन्दी गृह विस्तार गर्न आदेश दिनुभएको छ । ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीका लागि क्युबाको ग्वान्टानामो खाडीमा ३० हजार व्यक्ति अट्ने कारागार बनाउने जानकारी दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले यो सुविधाले कागजातविहीन आप्रवासीहरूलाई राख्ने सरकारको क्षमतालाई दोब्बर बनाउने र यसले अमेरिकालाई “आप्रवासी अपराधको संकट हटाउन एक कदम अगाडि’’ लैजाने बताउनुभयो । यो कदम कार्यकारी आदेशको रूपमा आउने र रक्षा मन्त्रालय पेन्टागनले कार्यान्वयन गर्ने बताइएको छ ।

विगतमा विभिन्न अमेरिकी प्रशासनहरूले आप्रवासीहरूलाई ग्वान्टानामो माइग्रेन्ट अपरेशन सेन्टरमा राखेका थिए । अमेरिकी राष्ट्रपतिको योजनाको क्युबाले भने विरोध गरेको छ । राष्ट्रपति मिगुएल डियाज–क्यानेलले आप्रवासीहरूलाई यातना गृहमा राख्नुलाई क्रूरताको कार्य भन्नुभएको छ ।

क्युबाको ग्वान्टानामो खाडी अमेरिकी सैन्य आधार हो जहाँ सन् २००२ मा प्रतिआतंकवाद अभियानमा पक्राउ परेका संदिग्धहरूलाई राख्नका लागि हिरासत शिविर स्थापना गरिएको थियो ।