
नवलपरासी । नवलपरासी प्रहरीले लागुऔषध कारोबारी रामग्राम नगरपालिका–१२ पचगाँवका ५२ वर्षीय राजेश लोनियालाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा लागुऔषधको कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा लोनियाको घरमा लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट सादा पोशाकका पुगेको प्रहरी टोलीमाथि जाइलागेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
लोनियालाई नियन्त्रणमा लिन चार राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ । लोनियालाई नियन्त्रणमा लिने व्रmममा उनका आफन्तहरुले प्रहरीलाई घेरेको बताइएको छ । लोनियाले प्रहरीको पेस्तोल खोस्न थालेपछि उनलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
लोनियाको साथबाट ९६ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । गोली लागेका लोनियाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । लोनियमाथि २०७८ सालमा मकवानपुर जिल्लामा लागुऔषधसम्बन्धीमैै मुद्दा चलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्