१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको माओवादी केन्द्रको आरोप


182
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले मुलुकमा सशासनका मामलामा राम्रोसँग अघि बढ्न नसकेको दाबी गर्नुभयो । उहाँले सरकारले प्रतिपक्षलाई पाखा र सत्तापक्षलाई काखमा राख्ने काम गरेको बताउनुभयो ।

प्रमुख सचेतक पाण्डेले सरकार सत्तापक्ष र प्रतिपक्ष सबैको भएकाले सत्ता पक्षलाई काख र प्रतिपक्षलाई पाखा लगाउने काम गर्न नहुने उल्लेख गर्नुभयो । उहाँले सरकारले नीति नियमका आधारमा कामहरु अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनताका अपेक्षाहरुलाई पूरा गर्नेगरी महँगी नियन्त्रण, जनजीविकाका सवालहरुमा सरकारले ध्यान नसकेको बताउनुभयो ।

प्रमुख सचेतक पाण्डेले जनता निर्माण सामाग्री लगायत अन्य वस्तुहरुको मूल्यवृद्धि भएको गुनासो गरिरहे पनि सरकारले नियन्त्रणको काम गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले सहकारी पीडितको वचत फिर्ताका विषयमा गम्भिर नबनेको उल्लेख गर्नुभयो । उहाँले पाथीभरा मन्दिरमा केवलकार बनाउने विषयमा जनताले विरोध गर्दा सरकारले दमन गरेको आरोप लगाउनुभयो ।

प्रमुख सचेतक पाण्डेले समस्या भएको ठाउँमा सबै पक्ष छलफलका माध्यमबाट समाधान गरी सांस्कृतिक र परम्परालाई संरक्षण गरेर अघि बढ्नुपर्ने ठाउँमा प्रहरी प्रशासन लगाएर जनतालाई दमन गर्नु ठिक नभएको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयन गर्ने खालका विधेयकहरु सरकारले सांसदमा ल्याउन नचाहेको बताउनुभयो ।

प्रमुख सचेतक पाण्डेले सरकारले अध्यादेशमार्फत मुलुक चलाउने रणनीति बनाउनु गलत भएको बताउनुभयो । उहाँले अध्यादेश संसद छलेर ल्याएको भन्दै कतिपय अध्यादेश व्यक्ति समूह र व्यवसायीहरुको हितका लागि ल्याएको जस्तो देखिएको बताउनुभयो ।