२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति तथा उपराष्ट्रपतिबाट शुभकामना सन्देश


169
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको । उहाँले वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

“माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ । सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने विवाह, व्रतबन्ध आदि जस्ता शुभ कार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ ।” राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभइ हाम्रो जीवनलाई सँधै ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको बताउनुभएको छ । शुभकामना सन्देश व्यक्त गर्दै राष्ट्रपति पौडेलले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबिच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्दै सबैमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना व्यक्त गर्नुभएकाने छ ।

त्यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले विद्या, ज्ञान, बुद्धि, कला र सङ्गीतको प्रतीकका रूपमा देवी सरस्वतीको पूजाअर्चना गर्ने हिन्दु विधान र पौराणिक परम्परा रहिआएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।