
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गर्नुभएको छ । सोमवार शुभ साईतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो ।
हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मुल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।
परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो ।
उक्त अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति रहेको थियो । उहाँहरुले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गर्नुभयो ।
श्रीमद्भागवत महापुराणमा भगवान श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उहाँका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ । वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुवात हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउँछ ।
त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रस्तुत गरिएको थियो । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्