१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ


260
Shares

काठमाडौं । देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार एक कार्यक्रमबीच शुभारम्भ गर्नुभएको हो ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गर्नुुभयो ।

आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिव १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले क्यान्सर विश्वमा मृत्युको कारणमध्ये एक भएको उल्लेख गर्नुभयो । विश्वमा कुल ६ जनाको मृत्युमध्ये एकको मृत्यु क्यान्सरका कारण हुने गरेको बताउनुभयो ।

महानिर्देशक देवकोटाले नेपालको कुल मृत्युको ११ प्रतिशतभन्दा बढी क्यान्सरबाट मृत्यु हुने गरेको बताउनुभयो । नेपालमा क्यान्सरको मृत्युबाट भएका मृत्युको ४० प्रतिशतभन्दा बढी मृत्यु फोक्सो र पाठेघरको क्यान्सरबाट हुने गरेको बताउनुभयो । नेपालमा हरेक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र हरेक दिन ४ महिलाको मृत्यु पाठेघरको क्यान्सरको कारण हुने गरेको बताउनुभयो ।

उहाँले आगामी वर्षदेखि नियमित खोप तालिकामा एचपिभी खोपलाई समावेश गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले आउँदो फागुन महिनालाई नसर्ने रोगको स्क्रिनिङ महिना घोषणा गरी कम्तिमा ५ लाखको परीक्षण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।– न्युज एजेन्सी नेपाल