
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले शुरुवात गरेको बताउनुभएको छ ।
मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपिभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति शुरुवात गरिएको दाबी गर्नुभयो । उहाँले अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गर्ने बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले नेपालका धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मुत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरुले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उल्लेख गर्नुभयो । उहाँले प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा अहिले पनि चार जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क रहेको उल्लेख गर्नुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले वर्तमान अवस्थालाई न्युनिकरण गर्नका निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका निरोधात्मक क्षेत्रमा सरकारले काम शुरु गरेको उल्लेख गर्नुभयो । उहाँले एचपिभी खोप विश्वमा परिक्षण गरेर सफल भएको खोप भएकाले स्वास्थ्यमा कुनैपनि असर नगर्ने बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले सरकारले हरेक रोगको निरोधात्मक क्षेत्रमा काम गर्ने अभियानका रुपमा योजना बनाएर अघि बढेको बताउनुभयो । उहाँले कक्षा ६ देखि १० सम्मका सबै छात्राहरुलाई खोप पु¥याउन सबैले सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले यो खोप हरेक वर्ष कक्षा ६ देखि १० सम्मका र कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई उपलब्ध गराउने बताउनुभयो । उहाँले १० देखि १४ वर्ष उमेर समूहको संख्या करिव १७ लाख रहेको भन्दै सबैलाई सरकारले खोप उपलब्ध गराउने उल्लेख गर्नुभयो । सरकारले १७ लाख भन्दा बढी खोपको व्यवस्था गरिसकेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्