
काठमाडौं । भन्सारसम्बन्धित निकायहरुले देशभरका सबै भन्सार कार्यालयहरु अस्तव्यस्त नभएको दाबी गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा बोल्ने भन्सारसँग सम्बन्धित निकायका प्रमुखहरुले यस्तो दाबी गरेका हुन् ।
प्रमुखहरुले भन्सारका सबै निकायहरुमा दक्ष कर्मचारीहरु व्यवस्थापन गर्न नसक्दा भन्सारमा समस्या रहेको उल्लेख गरे । उनीहरुले दक्ष जनशक्ति अभावको कारण भन्सार कार्यालयहरुमा प्रविधिमैत्री रुपमा काम हुन नसकेको उल्लेख गरे । उनीहरुले भन्सारमा काम गर्ने सबै कर्मचारीहरु फटाहा नभएको भन्दै ९० प्रतिशत कर्मचारीहरु देशको लागि काम गरिरको बताए ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सारमा रहेका सबै कर्मचारीहरु इमान्दार भएर काम गरेको बताउनुभयो । उहाँले ९० प्रतिशत कर्मचारीहरु इमान्दार भएर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले जोखिम मोलेर भन्सारका कर्मचारीदेखि सुरक्षाकर्मी समेतले काम गरिरहेको दाबी गर्नुभयो ।
महानिर्देशक पुडासैनीले भन्सारमा काम गर्ने कर्मचारीहरु जोखिम मोलेर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले केही ट्रेड युनियन,राजनीतिक पार्टीको दबाब प्रभावमा जाने, कारबाही गर्न खोज्दा डेलिकेशन आउने, नियमनकारी निकाय कर्मचारीविरुद्ध मुद्दा हालेर ह्यारेस गर्ने प्रवृत्ति बढेको बताउनुभयो ।
महानिर्देशक पुडासैनीले कर्मचारी व्यवस्थापनमा पनि समस्या भएको भन्दै भन्सारमा दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो । उहाँले कर्मचारी व्यवस्थापनको लागि आवश्यक कदम चाल्न आवश्यक रहेको तर भन्सार अस्तव्यस्त नभएको दाबी गर्नुभयो ।
आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले मुख्य गरेर राजश्वको आधार भनेको पैठारीमा आधिरित भएकाले राजश्वको मूल स्रोत भनेकै पैठारी भएको बताउनुभयो । उहाँले पैठारी व्यवस्थित भए मात्रै आन्तरिक राजश्व पनि प्रभावकारी हुने बताउनुभयो ।
महानिर्देशक आचार्यले भन्सार र खुला सीमा व्यवस्थित नगरेसम्म भन्सारमा समस्या हुने बताउनुभयो । उहाँले भन्सारलाई व्यवस्थित बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभयो । उहाँले नेपालको सीमानामा भएको जनसख्यालाई प्राथमिकता दिएर विकास निर्माणका गतिविधि, रोजगारी र गरिबी निवारणका कार्यक्रमहरु लैजानुको विकल्प नभएको बताउनुभयो ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले पुस मसान्तसम्म भन्सार र भन्सार बाहिरबाट आएका वस्तुहरुको जाँच गर्दा ३० करोड ९३ लाख रुपैयाँ धरौटी माग गरेर मुद्दा दायर गरेको बताउनुभयो । उहाँले भन्सारमा जाँच पासको लागि केही समय लाग्दा व्यवसायीहरुको लागत बढ्ने गरेको बताउनुभयो । उहाँले व्यवसायी भएर हेर्दा भन्सारमा जटिलता रहेको उल्लेख गर्नुभयो ।
महानिर्देशक आचार्यले वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीलाई कुनै पनि किसिमले हानी नहुने गरी र जसले चोरी पैठारी गरी राजश्व छलीलाई नियन्त्रण गर्ने हिसावले काम गरिरहेको बताउनुभयो । उहाँले भन्सार प्रशासकको तलव र बनोस दिने कानूनी व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्