२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाललाई आईटी हब बनाउन आवश्यक नीति, कानून र पूर्वाधार निर्माण गर्न सरकार तयार छ : सञ्चारमन्त्री गुरुङ


169
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानून र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपाललाई आइटी हबको रुपमा विकास गर्न आवश्यक नीति,कानून र पूर्वाधार निर्माणका लागि सहजिकरण गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आईटी हबको रुपमा विकास गरी विश्वलाई चिनाउनु पर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले आईटी क्षेत्रबाट यो वर्ष गत वर्षको भन्दा धेरै राजश्व संकलन हुने विश्वास रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको अध्यादेश प्रभावले राजश्व बढाउन सक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा पर्यटन भन्दा आईटी क्षेत्रको योगदान बढी हुने अवस्था रहेको बताउनुभयो ।

मन्त्री गुरुङले पर्यटनको कथा धेरै वर्ष भएपनि सन्तोषजनक प्रगति गर्न सकेको भन्दै पर्यटनमा पूर्वाधारको धेरै अभाव देखिएको बताउनुभयो । उहाँले पर्यटन विकासको लागि बनाएको दुई वटा विमानस्थल चलाउन नसकेको स्वीकार गर्नुभयो ।

मन्त्री गुरुङले सरकारले नेपालको आफ्नै स्याटालइट बनाउने योजना बनाइरहेको बताउनुभयो । उहाँले अध्ययन गर्ने र आवश्यक पूर्वाधार विकास गरी काम गर्ने वातावरण मुलुकभित्रै बनाए वैज्ञानिक खोज्न नासामा जानुपर्ने अवस्था नहुने उल्लेख गर्नुभयो ।