२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्वस्थ खानाको अभाव र प्रदुषणका कारण मिर्गौला रोगीको संख्या बढदै : उपप्रधानमन्त्री पौडेल


260
Shares

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वस्थ खानपानको अभाव र प्रदुषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या बढिरहेको बताउनु भएको छ ।

शुक्रवार नेपाल नेशनल अस्पतालले आयोजना गरेको डायलासिस सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले त्यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्रीले मिर्गौला रोगीहरुको संख्या बढ्नाले स्वास्थ्य व्यवस्थापनमा चुनौति थपिएको बताउनुभयो । उहाँले मिर्गौला रोगीहरु बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको बताउनुभयो । उहाँले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘अहिले हाम्रोमा स्वस्थ खानपानको अभाव, प्रदुषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या प्रतिदिन बढिरहेको छ । हाम्रो स्वास्थ्य व्यवस्थापनका सामुन्नेमा एउटा नयाँ चुनौतिको रुपमा उपस्थित भएको छ । यस्तो अवस्थामा मिर्गौला रोगीहरुको उपचारलाई केन्द्र भागमा राखेर सेवा बिस्तार गर्नुपर्ने आजको आवश्यकता छ । सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल भएको छ । नेपाल नेशनल हस्पिटलले जुन ढंगले डायलसिस सेवा शुरु गरेको छ । त्यसको लागि अस्पताल परिवारप्रति बधाई भन्न चाहन्छु ।’ उपप्रधानमन्त्री पौडेलले भन्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल नेशनल अस्पतालका आइसियु विज्ञ तथा निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताउनुभयो । उहाँले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एक जना मिर्गौलाको बिरामी रहेको तथ्यांक रहेको बताउनुभयो ।

डा. पौड्यालले यही अवस्थालाई मध्यनजर गरेर अस्पतालले कलंकी क्षेत्रमा मिर्गौला रोगीका लागि डायलासिस सेवाको शुभारम्भ गरेको जानकारी दिनुभयो । एक पटक मिर्गौला रोगी भएर डायलसिस सेवामा जानुपरेपछि बिरामीलाई धेरै गाह्रो हुने र औषधिको खर्च पनि धेरै हुने बताउनुभयो । उहाँले यसबाट परिवारमा पनि समस्या आउने गरेको बताउनुभयो ।

उहाँले सर्वसुलभ र राम्रो सेवा दिने उद्देश्यले नेपाल नेशनल अस्पताल स्थापना गरिएको बताउनुभयो । —न्युज एजेन्सी नेपाल