१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित


6.344k
Shares

काठमाडौं । आज बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गर्नुभएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो ।

बैठकमा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले अहिले सरकारले ल्याएको अध्यादेशको विषयमा सबैतिर चर्चा रहेको उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सांसद सुरेशकुमार आलेमगरले देशमा इमान्दारिताको खडेरी लागेको बताउनुभएको छ । राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले देशमा इमान्दारिता आवश्यक रहेको बताउँदै देशलाई अगाडि बढाउन र समृद्धि ल्याउन उद्योगधन्दा, कलकारखाना विकास हुनुपर्नेमा जोड दिनुभयो । तर नेपालमा कलकारखाना, उद्यागेधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति देखापरेको बताउनुभयो ।

राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले अध्यादेश संवैधानिक भएकाले अस्वीकार गर्नुको कुनै कारण नरहेको बताउनुभएको छ । अध्यादेश संवैधानिक व्यवस्था भएकाले सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । सांसद गेल्जेनले आफूलाई पायक पर्दा स्वीकार्ने, पायक नपर्दा अस्वीकार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक आगामी फागुन ४ गते दिउँसो १.१५ बजे बस्नेछ ।