२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जलवायु उत्तरदायी बजेट २० प्रतिशत पुर्‍याइने


273
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पुर्‍याउने गरी काम गर्न सबै तहका सरकारलाई सुझाव दिएको छ ।

आगामी आर्थिक वर्षको बजेट तयारीको पूर्वसन्ध्यामा आयोगले सबै तहका सरकारलाई पत्राचार गरी १६ औँ योजनामा उल्लेखित हरित तथा जलवायुमैत्री विकासको लक्ष्य हासिल गर्न सबै नीति, रणनीति र बजेटलाई जलवायु उत्तरदायी बनाउन ध्यानाकर्षण गराएको छ ।

पछिल्ला दिनहरुमा जलवायुजन्य विपद्का घटना बढ्दै गएको तथा कतिपय विकासहरु विपद्का कारक बन्ने गरेको स्मरण गर्दै आयोगले विकास निर्माणलाई जलवायुमैत्री बनाउन भनेको छ । आयोगले १६ औँ योजनाका रुपातन्रणकारी क्षेत्र, विषय क्षेत्र एवं कार्यक्रमहरुमा समन्वयात्मक अतिरिक्त लाभ सिर्जना गर्नेगरी कार्य गर्न भनेको छ ।

न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै आयोगका सचिव मधुकुमार मरासिनीले १६ औँ योजनामा हरित तथा जलवायुमैत्री विकासलाई प्राथमिकतामा राखिएकाले योजना कार्यान्वयनको पहिलो वर्षदेखिनै तीन वटै तहका सरकारका बजेट, नीति तथा रणनीतिमा त्यसको प्रभाव देखिने गरी काम हुने विश्वास आयोगले लिएको बताउनुभयो ।

सचिव मरासिनीले भन्नुभयो ‘हामीले १६ औँ योजना अवधिभरमा अथवा अन्तिम वर्ष सम्ममा जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पु¥याउने भनेर प्रतिवद्धता गरेका छौँ । सबैभन्दा ठूलो कुरा अपनत्व ग्रहण गर्ने विषय हो । हामीले जलवायु परिवर्तन र जलवायुमैत्री पुर्वाधार निर्माणका विषयमा बुझाउनु जरुरी छ । विगतमा पूर्वाधारमा लगानी बढाउनुपर्ने थियो । तर आज तिनै पूर्वाधार विपद्को कारक बनेका छन् । हामीले गर्ने विकास अब जलवायुमैत्री हुनुपर्छ र हाम्रा विकास निर्माणका बजेट जलवायु उत्तरदायी हुनुपर्छ । ’

आयोगले अहिले १६ औँ योजनाको कार्यान्वयन कार्ययोजना बनाइरहेको छ । आयोगको कार्यायोजनामा जलवायु परिवर्तन अनुकुलन, प्रदूषण नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा कार्बन न्यूनीकरणका लागि आन्तरिक र वाह्य लगानी केन्द्रित गर्नुको साथै राष्ट्रिय अनुकुलन योजना तथा स्थानीय अनुकुलन कार्य योजना कार्यान्वयन गर्दै नेपालको विकास गतिविधिलाई कार्बन न्यूनीकरण लक्ष्यतर्फ उन्मुख गरिने उल्लेख छ ।

त्यसैगरी विकसित मुलुक तथा विकास साझेदारहरूले जलवायु परिवर्तनको क्षेत्रमा प्रस्ताव गरेका विकास सहायता प्राप्त गर्न कुटनीतिक संवाद, सहमति, र सम्झौताहरू अघि बढाउने गरी काम गरिने पनि सचिव मरासिनीले बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय जलवायु कोष, कार्बन व्यापार, निजी क्षेत्र तथा विकास साझेदारहरूको सहयोग बिस्तार गर्न पहल गरिने बताउनुभयो । – न्युज एजेन्सी नेपाल