१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै नेपालः विश्व समुदायले हेर्ने दृष्टिकोणमा सकारात्मक प्रभाव पर्ने विश्वास


728
Shares

काठमाडौं । नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले अध्ययन प्रतिवेदन बुझउँदै उक्त जानकारी दिएको हो ।

समितिमा एलडिसी अध्ययन प्रतिवेदन बुझाँउदै उपसमितिकी संयोजक सांसद अञ्जान शाक्यले नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने जानकारी दिनुभयो । उहाँले स्तरोन्नतिबाट नेपाललाई प्राप्त हुने अवसर, त्यसले नेपाललाई पार्ने प्रभाव र प्रभावको समुचित व्यवस्थापनको भइरहेका कामहरुबारे उपसाितिले अध्ययन गरी प्रतिवेदन तयार पारिएको बताउनुभयो ।

सांसद शाक्यले अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएसँगै नेपाली जनता र नेपालको सम्मान बढ्ने र नयाँ अवसरहरु सिर्जना हुने बताउनुभयो । उहाँले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएसँगै विश्व समुदायले नेपाललाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो । विकासशील राष्ट्र भएसँगै नेपालमा वैदेशिक लगानी र विकास सहायता परिचालनमा वृद्धि हुने बताउनुभयो ।

नेपालले प्राप्त अवसरहरुको सदुपयोग गर्न नीति, कानून, रणनीति र कार्यविधिको परिमार्जन तथा संस्थागत एवं संरचनागत सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । समितिले उक्त प्रतिवेदनको आवश्यक अध्ययन गरि सरकारलाई निर्देशन दिने बताएको छ ।

समिति सचिव डा. रोजनाथ पाण्डेले विकासशील राष्ट्रमा स्तरोन्नति भइसकेपछि प्राप्त हुने अवसरहरुबारे गम्भिर रुपमा अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले स्तरोन्नति भएसँगै प्राप्त हुने अवसर, यसले पार्ने प्रभाव लगायतका विषयमा अध्ययन गरेर उपसमितिले प्रतिवेदन तयार पारेको बताउनुभयो ।

सचिव पाण्डेले स्तरोन्नति भएको कुरालाई फेरि फर्किन नदिई यसको दिगोपना कायम गर्न सरकारी क्षेत्र र निजी क्षेत्रको बीचमा समन्वय हुन जरुरी रहेको समेत बताउनुभयो ।