
काठमाडौं । नेपाली युवा फुटबल टोलीले चीनको युनान युथ फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा जित्नका लागि खेल्ने बताएको छ ।
चिनियाँ नयाँ वर्षको अवसरमा नेपालीको युवा टोली र चीनको युनान प्रान्तबीच शनिबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलमा डिफेन्डर सिमान्त थापामगरले नेपाली टोलीको नेतृत्व गर्दैछन् । खेलअघि शुक्रवार आयोजना भएको पत्रकार सम्मेलनमा सिमान्तलाई कप्तान घोषणा गरिएको हो ।
नेपाली टोलीको प्रशिक्षकमा राजेश शाही छन् । उक्त मैत्रीपूर्ण खेलमा यसपल्ट पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो भेटमा भने नेपालले पाहुना टोलीमाथि ५–१ को जित निकालेको थियो । यद्यपि, यसपल्ट दर्शकले प्रतिष्पर्धा खेल हेर्न पाउने युनान युथ टोलीले विश्वास व्यक्त गरेको छ. । यसअघि पत्रकार सम्मेलनमा पनि चिनियाँ दुतावासले यसपल्ट राम्रो टोली नेपाल आएको उल्लेख गरिसकेको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि उमेरसमूहका ४५ खेलाडीको बन्द प्रशिक्षणबाट युवा टोली घोषणा गरेको हो । जसको नेतृत्व पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका सीमान्तले गर्ने भएका छन् ।
यसअघि सन् २०२२ मा श्रीलंकामा भएको साफ यु–१७ च्याम्पियनसिपमा नियमित कप्तान प्रशान्त लक्षम अनुपस्थित हुँदा सीमान्तले नै कप्तानी जिम्मेवारी निर्वाह गरेका थिए । सिमान्तले गत वर्ष घरेलु मैदानमै भएको साफ यु–२० च्याम्पियनसिप पनि खेलेका थिए ।
उनले एएफसी यु–२० कप छनोटमा पनि नेपालको प्रतिनिधित्व गरिसकेका छन् । उक्त मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शनिवार दिउँसो २ः३० मा शुरु हुनेछ । यो मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक राजेश शाहीले गत मंगलवार २३ सदस्यीय युवा टोली घोषणा गरेका हुन् ।
नेपाली टोलीमा तीन गोलकिपरः जियारथ शेख, कृषल मोक्तान, विशाल केसी तथा डिफेन्डरमा सिमान्त थापामगर (कप्तान), सविन घिमिरे, राम थापा, विशाल नेपाली, अश्विन घोरासैनी, विक्रम तामाङ छन् । मिडफिल्डरमा सरोज दार्लामी, लक्षु थापा, कृष्ण आले, ओमप्रकाश बम, सविन लुङ्गेली, आशिष राई, विक्रम गौतम, धर्मेन्द्र कुँवर तथा फरवाडर्माः निराजन धामी, सुजन मगर, नीरज कार्की, निरोज चौधरी, श्यरब लो तामाङ र विज्ञान खड्का छन् ।
प्रतिक्रिया दिनुहोस्