
एजेन्सी । प्यालेस्टायनी लडाकू समूह हमासले शनिवार थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ ।
एक हप्ताको अन्योलपछि हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको सञ्चार माध्यमले जनाएको छ ।
बदलामा इजरायलको विभिन्न जेलमा रहेका तीन सय ६० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दी छुट्दैछन् । आज रिहा हुनेमा इजरायली नागरिक अलेक्जेन्डर ट्रुभनोभ, याएर होर्न र सागी डेकल–खेन रहेका छन् । रेडक्रसका कर्मचारीहरूले हमासका सदस्यहरूसँग बन्धकको रिहाइसँग सम्बन्धित कागजातहरूमा हस्ताक्षर गरेपछि बन्धकहरूलाई रिहाइ गरिएको हो ।
रिहाइअघि तीनै जनालाई हमासले खान युनिसको मञ्चमा खडा गराएको थियो । त्यसपछि बन्धकहरूलाई त्यहाँ उपस्थित मानिसहरूसँग कुरा गर्न माइक्रोफोन दिइएको थियो । गएको जनवरी १९ मा हमास र इजरायलबीच युद्धविराम सम्झौता भएयताको यो छैटौं पटकको बन्धक रिहा हो ।
यसअघि गत सोमवार इजरायलले युद्धविरामका शर्त उल्लङ्घन गरेको भन्दै हमासले बन्धक रिहा नगर्ने जनाएपछि युद्धविराम भङ्ग हुने चिन्ता उत्पन्न भएको थियो । यसपालि पनि नेपाली विद्यार्थी विपिन जोशीको नाम परेन ।
प्रतिक्रिया दिनुहोस्