
काठमाडौं । काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरु सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
अस्पताल स्थापनाकालदेखि दैनिक ज्यालादारी कर्मचारीको सेवा सुविधा एवं अन्य सेवा सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वास्थ्यकर्मी श्रमिक संगठनका केन्द्रीय अध्यक्ष केशव रोकायाले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रको काम सम्मानजनक भएको उल्लेख गर्दै रोकायाले सम्मानजनक सेवा सुविधा दिनुपर्ने बताउनुभयो । उहाँले आठ घण्टा काम गर्ने र चार घण्टा काम गर्ने कर्मचारीहरुले एउटै प्रकृतिको सेवा सुविधा पाउने गरेकोमा पनि उहाँले असन्तुष्टि जनाउनुभयो ।
निजामति कर्मचारी अस्पतालको रेडियोलोजी डिपार्टमेण्टका कर्मचारी पंख वि.क.ले सरकारी मापदण्डअनुसार सेवा सुविधा नदिने र निर्देशकपिच्छे आफ्ना कर्मचारी नियुक्ति गर्ने प्रवृत्ति बढेकोले आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो. । उहाँले आफ्ना मागहरु सम्बोधन नभएर प्रधानमन्त्री कार्यालय घेर्नेसम्मका चेतावनी दिनुभएको छ ।
आन्दोलित कर्मचारीहरुले मुख्यतः अस्पतालको विनियमावली/गठन आदेश तत्काल संशोधन गर्नुपर्ने, जोखिम भत्ता र सामाजिक सुरक्षा कोषको तत्काल व्यवस्था गर्नुपर्ने, कार्यरत कर्मचारीहरुलाई श्रेणी र तह बमोजिम पारिश्रमिक र सेवा सुविधाको व्यवस्था गर्नुपर्ने लगायत माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्