
काठमाडौं । आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको फुटबलको उद्घाटन खेलमा नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्यसका लागि नेपाली टोलीको तयारी पूरा भएको एन्फाले जनाएको छ ।
खेलका लागि नेपाल बाहिर रहेका महिला फुटबल खेलाडी एन्जिला र रेखा स्वदेश फर्किसकेका छन् । प्रतियोगितामा नेपालका साथै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।
नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा हुने एन्फाले जनाएको छ ।
खेल तालिका अनुसार नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ । नेपालका सबै खेलहरु दशरथ रंगशालामा साँझ साढे पाँच बजे शुरु हुनेछ ।
लिगमा शीर्ष हुने दुई टोलीबीच फागुन १४ मा फाइनल हुनेछ । प्रतियोगिताको टिकट दर साधारणतर्फ ५ सय र भीआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्