२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


हमासले आगामी शनिवार थप ६ इजरायली बन्धक रिहा गर्ने


988
Shares

एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासले आगामी शनिबार थप ६ इजरायली बन्धकलाई रिहा गर्ने जनाएको छ । साथै हमासले आफनो साथमा रहेका ४ बन्धकको शव बिहीबार इजरायल सरकारलाई हस्तान्तरण गर्ने घोषणा गरेको छ ।

हमासका वरिष्ठ अधिकारी तथा मुख्य वार्ताकार खलिल अल–हयाले एक टेलिभिजन सम्बोधनका क्रममा चार शव बिहीबार हस्तान्तरण गरिने घोषणा गरेका हुन् । शव हस्तान्तरण गरिनेमा इजरायली महिला शिरी र उनका दुई सन्तान केफिर र एरियल रहेको तथा अन्य एकजना भने कम उमेर समुहका बन्धक रहेको हमासले जनाएको छ । ती इजरायली महिलाका श्रीमान यार्डेनलाई भने हमासले रिहा गरिसकेको छ ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा यार्डेनसहित आफना श्रीमती र दुई बालबालिकाको अपहरण गरेको थियो । इजरायलले उत्तरी गाजाका सर्वसाधारणलाई फर्कन अनुमति दिने भएपछि हमासले थप बन्धकहरूलाई शनिबार रिहा गर्ने जनाएको हो ।

इजरायल र हमासबीचको युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गर्न बाँकी ६ बन्धकलाई रिहा गर्ने सहमति गरेको इजरायली अधिकारीहरुले जनाएका छन् । गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई पटक पटक गरी बन्दीहरु रिहा गरेकोमा बदलामा इजरायलले २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरिसकेको छ ।

यो आदानप्रदान इजरायल र हमासबीच युद्धविराम सम्झौताको एक भाग हो, जसको उद्देश्य द्वन्द्वको स्थायी अन्त्यको मार्ग प्रशस्त गर्नु हो । युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको थियो । पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ ।