
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गल्फ कर्पोरेशन काउन्सिल (जिसिसी) अन्तर्गतका देशहरुमा गैरकानूनी रुपमा गएका नेपाली श्रमीकहरुको सुरक्षा जटिल बनिरहेको बताउनुभएको छ ।
बिहीबार ओमानको मस्कटमा आयोजित आठौं हिन्द महासागर सम्मेलनमा भाग लिएर स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री राणाले यस्तो बताउनुभएको हो ।
परराष्ट्रमन्त्री राणाले उक्त समस्या समाधानका लागि विज्ञ समूह बनाएर काम अघि बढाउने बताउनुभयो । नेपालका राजदुतहरुसँग भर्चुअल बैठक बसेर उक्त समस्या समाधान गर्न काम अघि बढाउने बताउनुभयो । उहाँले गल्फ देशहरुमा गैरकानूनी रुपमा पुगेका नेपाली महिला श्रमीकहरु बढी असुरक्षित रहेको पनि बताउनुभयो । उनीहरुलाई उद्धार गर्न सरकार र त्यहाँस्थित राजदुतावासले पनि धेरै काम गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्नुभयो ।
परराष्ट्रमन्त्री राणाले नेपालबाट चिकित्सक, इन्जियिनर लगायतका दक्ष जनशक्तिहरु धेरै पुगेको तर दक्ष जनशक्तिलाई पनि अदक्ष जनशक्तिकै जस्तो प्रक्रियामा समावेश गर्दा समस्या परिरहेको बताउनुभयो । उनीहरुलाई कम्तिमा दुई वर्षको भिसा समय हुनुपर्ने व्यवस्थाले छोटो समयको लागि जानुपर्दा भिसा नपाउने समस्या रहेको बताउनुभयो । उहाँले ओमान सरकारसँग पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौता भएको पनि बताउनुभयो ।
परराष्ट्रमन्त्री राणाले उच्च अध्ययनका लागि विदेश जाने कानूनी र गैरकानूनी विद्यार्थीको अध्यागमन तथ्यांक गृह मन्त्रालयसँग माग्ने बताउनुभयो । पर्यटक भिसामा जानेहरुको तथ्यांक पनि माग्ने बताउनुभयो । प्रदेश स्तरमै भिसा दिनसक्ने व्यवस्था गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनुभयो । इरानका परराष्ट्रमन्त्रीको बारेमा विपिन जोशीको रिहाईको बारेमा पहल गर्न आग्रह गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्