२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रले ‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि गर्ने


351
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरु हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजर्माग केन्द्रित जागरण अभियानको शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताउनुभयो । उहाँले अभियानको समापन चैत्र ८ गते कञ्जनपुरमा पुगेर गरिने बताउनुभयो । उहाँकाअनुसार तराई क्षेत्रका नागरिकहरुले भोग्नुपरेका समस्याहरुको बारेमा जागरण अभियान केन्द्रित हुनेछ ।

अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तरक्रिया तथा सभा हुने बताइएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्यतालिका छ । फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुनेछ ।

अभियान फागुन १६ देखि २४ सम्म मधेश प्रदेशमा हुनेछ । फागुन १६ मा सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ । फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ ।

नवलपुर (नवलपरासी पूर्व)मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता सापकोटाले बताउनुभयो । २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।