१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाँदर र बँदेल नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा पेस


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद बजगाईंले सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको प्रस्तावमा, ‘नेपालको ग्रामिण क्षेत्रमा बाँदर र बँदेलको आतंकबाट खेतिबाली नष्ट भई किसानहरुको सुरक्षामा समेत खतरा पैदा भएकोले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नको लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको’ छ ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै सांसद बजगाईंले बाँदर बँदेलकै कारण मानवबस्ती विस्थापित भएको बताउनुभयो । उहाँले पछिल्लो समय मानव–वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको बताउनुभयो ।

सांसद बजगाईंले दर्ता प्रस्तावमा बाँदर र बँदेल नियन्त्रण गरि कृषिबाली जोगाउने उपाय समेत उल्लेख बताउनुभयो ।

प्रस्तावका समर्थक एवं नेपाली कांग्रेसका सांसद उदय समशेर ज।ब।रा।ले बाँदर र बँदेलका कारण खेतीमात्र नष्ट नभई गाउँबाट घरपरिवार नै विस्थापित हुनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले पछिल्लो समय जंगली जनावरकै कारण गाउँ छोडेर उपत्यका झर्नेहरु बढ्दै गएको कारण बाँदर र बँदेल नियन्त्रका लागि वैज्ञानिक नीति बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले बाँदर धार्मिक परम्परासँग जोडिएको कारण मार्नन नहुनेमा उहाँको जोड छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले यस जरुरी महत्वको प्रस्तावलाई अवसरमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले बाँदर नियन्त्रणका लागि मार्ने नभई बन्ध्याकरणको नीति अपनाउनुपर्ने बताउनुभयो ।

प्रस्तावमाथिको छलफलमा सहभागि हुँदै अधिकांश सांसदहरुले जंगली जनावरका कारण कृषि क्षेत्र संकटमा परेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले काम गर्न जरुरी रहेको धारणा राखेका छन् ।