
काठमाडौं । आमसञ्चार क्षेत्रलाई स्वतन्त्र राख्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आमसञ्चार परिषद् विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागि हुँदै सांसदहरुले धारणा राखेका हुन् ।
लोकतन्त्रको आधारभुत तत्व अभिव्यक्ति स्वतन्त्रता र त्यसको प्रमुख रक्षक स्वतन्त्र मिडिया भएको उनीहरुको भनाइ छ ।
नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपालको सञ्चार क्षेत्र आफ्नो विशिष्टता जोउने र अघि बढ्ने संकटबाट गुज्रिरहेको बताउनुभयो । उहाँले नेपालको सञ्चार क्षेत्रलाई दुरुपयोग गर्दै बाटोको मादल जस्तो बनाउन खोजिएको टिप्पणी गर्नुभयो ।
सांसद थापाले पत्रकारितालाई स्वच्छ, स्वस्थ र व्यवसायिक बनाउने गरी विधेयक निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले आमसञ्चार परिषद्लाई नियमनकारी निकायका रुपमा स्वायत्त, नियमनकारी र व्यवस्थित ओभरसाइड एजेन्सीका विकास गर्नेगरी विधेयक ल्याउनुपर्ने बताउनुभयो ।
सांसद थापाले आमसञ्चार परिषद्मा सिफारिस र नियुक्ति प्रक्रियाको प्रस्तावमा सुधार गर्न जरुरी रहेको बताउनुभयो । आमसञ्चार परिषद्मा संसदको समेत सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले आमसञ्चार परिषद् विधेयकले मिडिया पत्रकारिता र समाचार क्षेत्रको व्यवस्था र नियमनको दायित्व बोकेको बताउनुभयो । उहाँले विधेयकले मिडियामा आवद्ध सञ्चालक तथा पत्रकारहरुको जिम्मेवारी, जवाफदेहितासँगै समाजप्रतिको उत्तरदायित्वलाई समेत सुनिश्चित गरेको बताउनुभयो ।
सांसद न्यौपानेले मिडिया उद्योगको संरचना, पत्रकारहरुको अधिकार तथा कर्तव्य र मिडियासम्बन्धी मापदण्ड र प्रक्रियाहरु तय गर्ने भन्दै विधेयकको स्वागत गर्नुभयो । विधेयकमाथि अझै छलफल गरेर समृद्ध बनाउन जरुरी रहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विधेयकको नाम परिवर्तन गरिएकोप्रति आपत्ति जनाउनुभयो । मिडिया काउन्सिल विधेयकलाई आमसञ्चार परिषद् विधेयक मात्र बनाइएको हो कि यसको भावमै केही फरक गरिएको हो रु भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले सञ्चार क्षेत्र कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि निगरानी राख्ने र जनतालाई सुसूचित गर्ने क्षेत्र भएको उल्लेख गर्दै पुर्ण स्वतन्त्रता दिइनुपर्ने बताउनुभयो ।
सांसद सापकोटाले सबै क्षेत्रमा जस्तै सञ्चार क्षेत्रमा पनि अराजकता रहेपनि सबैलाई एउटै डालोमा हाल्न नहुने बताउनुभयो । उहाँले अमुख सञ्चार माध्यमलाई आँखा अगाडि राखेर कानून निर्माण नगरि स्वतन्त्र रुपमा कानून बनाउन आग्रह समेत गर्नुभयो ।
विधेयकमाथिको छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्कीले मिडिया काउन्सिल विधेयले नेपाली पत्रकारितालाई मर्यादित, स्वस्छ र जिम्मेवार उद्देश्य भएपनि यसका केही प्रावधानहरुले स्वतन्त्र प्रेसमाथि नियन्त्रणको आशंका जन्माएको बताउनुभयो । उहाँले स्वतन्त्र पत्रकारिताको रक्षाका लागि सबै प्रतिवद्ध हुन जरुरी रहेको बताउनुभयो ।
सांसद कार्कीले विधेयकको मस्यौदा तयार गर्न सरकारले बनाएको समितिले बनाएको मस्यौदा नै संसदमा पुग्दा मुल भावना भंग गरी अघि सारिएको र विज्ञहरुको सुझाव तोडमोड गरिएको आरोप लगाउनुभयो । उहाँले लेख्ने स्वतन्त्रताका लागि विधेयक ल्याइएको भएपनि यसलाई संकुचित गर्ने सरकारको नियत रहेको आशंका व्यक्त गर्नुभयो ।
सांसद कार्कीले विधेयकमा भएको काउन्सिलको संरचना र नियुक्ति प्रक्रियाले यसको निष्पक्षतामाथि गम्भिर प्रश्न उठाएको भन्दै सुधार गर्न जरुरी रहेको बताउनुभयो ।
बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले विधेयक कानून बाझिने गरी आएको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रमा वैदेशिक लगानी ल्याउन वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनले भनेको भएपनि विधेयकमा त्यो कुरा समावेश गरिएको बताउनुभयो ।
राष्ट्रिय सभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक, २०८१ मंगलबार प्रतिनिधि सभामा छलफलका लागि पेस गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्