
काठमाडौं । आज महाशिवरात्रि पर्व । आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी देशैभर आज शिवरात्री पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो ।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताउनुभयो ।
शिवरात्रि पर्व शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको छ । पुराणलगायत ग्रन्थमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ ।
आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथै सोही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ ।
आज बुधबार बिहान २ बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको र दर्शनार्थीलाई लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।
दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी परिचालन गरिएको छ । भक्तजनहरुको सहजताका लागि पशुपति क्षेत्रबिकास कोषले चारैतिरबाट महिला र पुरुष गरी ८ वटा लाइनको व्यवस्था मिलाइएको छ । शिवरात्रिको अवसरमा देशैभरका शिवमन्दिरहरुमा भक्तजनहरुको बिहानैदेखि घुँइचो लागेको छ ।
सात वर्षअघिदेखि पशुपति क्षेत्रमा निषेध गरिएको गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समात्ने र कानुनी कारवाही गरिने बताइएको छ । शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्