
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व–पश्चिम हुलाकी मार्गकेन्द्रित जागरण अभियानले जनताका समस्या बुझ्न मद्दत पुग्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल, मोरङ शाखाद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले दक्षिणी क्षेत्रमा बसोवास गर्ने आदिवासी, जनजाति, मधेशीका समस्या बुझ्न र त्यसको समाधान गर्न जागरण अभियान उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।
“आर्थिक विकासका निम्ति जागरण अभियान आवश्यक छ, यसबाट उत्पादन र उत्पादकत्व बढाउन पनि मद्दत मिल्नेछ । मेचीदेखि महाकालीसम्मको यो अभियान सुशासनका निम्ति पनि हो ।” अध्यक्ष दाहालले भन्नुभयो । साथै उहाँले परिवर्तनको संवाहक नेकपा माओवादी केन्द्र हो भन्नुभयो ।
अध्यक्ष दाहालले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा राजनीतिक विसङ्गतिको अन्त्य हुने र जनताको शान्ति र समृद्धिको चाहना पूरा हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्