
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरणविक्रम शाही लगातार शिर्ष स्थानमा कायमै रहन सफल भएका छन् ।
आज २-अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३-अन्डर २०३ सहित शिर्ष स्थानमा कायमै रहेका हुन् । उनले निरज तामाङलाई १ स्ट्रोकले पछि पारे । ४-अन्डर ६८ सहित समग्रमा १२-अन्डर २०४ को स्कोरमा निरज दोस्रो स्थानमा कायमै छन् । अन्तिम १८ होलको खेल बाकी छँदा उनले अग्रता १ स्ट्रोकमा झार्दै लिडर तोरणलाई दबाब दिए ।
दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य दुवैले आज ६-अन्डर ६६ को सानदार प्रदर्शन गरे। समग्रमा ६-अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् । एमेच्योरतर्फ उनीहरूले शिर्षस्थान बाँडे । समग्रमा ५-अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे। उनी पाँचौ स्थानमा रहे। नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले ३-अन्डर ६९ को स्कोर निकाले ।
समग्रमा ४-अन्डर २१२ सहित छैटौं स्थानमा उक्लिए। आज १-अन्डर ७१ को स्कोरमा समग्रमा ३-अन्डर २१३ सहित दिनेश प्रजापति सातौं स्थानमा छन् ।
सञ्जय लामाले ३–अन्डर ६९ को स्कोर दर्ज गरे । समग्रमा भने २-अन्डर २१४ को स्कोरमा आठौं स्थानमा रहेका छन् । समग्रमा इभन-पार २१६ स्कोर जोडेका रामे मगर र टंकबहादुर कार्कीले नवौं स्थान बाँडे । रामेले २-अन्डर ७० र टंकले २-ओभर ७४ को स्कोर निकाले ।
लगातार तेस्रो दिन पनि शिर्षस्थानमा रहने क्रममा तोरणले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए । उनले छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा ११औं र १२औं होलमा एक-एक सट बचाएपनि १०औं र १५औं होलमा बोगीको सामना गरे। योसँगै ब्याक नाइन इभन-पार ३६ मा सकाए ।
निरजले फ्रन्ट नाइन १–ओभर ३७ मा पूरा गर्ने क्रममा पाँचौं र सातौं होलमा बोगी प्रहार गरे । आठौं होलमा एक सट बचाए। तर उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५-अन्डर ३१ मा सकाए । उनले १२औं, १५औं र १६औं होलमा बर्डी प्रहार गर्दा ४-पारको १८औं होलमा इगलको सफलता प्राप्त गरे ।
एमेच्योर राहुलले तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे । फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । ब्याक नाइनमा राहुले सानदार प्रदर्शन गरे । १०औं देखि १२औं होलमा लगातार तीन बर्डी प्रहार गरे। यसपछि १५औं र १६औं होलमा पनि बर्डी प्रहार गर्न सफल रहे। उनले ब्याक नाइन ५-अन्डर ३१ मा सकाए। यो नतिजावस उनी संयुक्तरुपमा तेस्रो स्थानमा उक्लिए।
सद्भावले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि १३औं होलमा बोगी खेपे पनि ११औं, १२औं र १८औं होलको बर्डीले ब्याक नाइन २–अन्डर ३४ मा सकाए। प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् । शिर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्