१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्दै


585
Shares

काठमाडौं । वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा. प्रकाश बुढाथोकीले यस्तो बताउनुभएको हो ।

प्रवक्ता डा. बुढाथोकीले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा बिस्तार गरिएको बताउनुभयो । अस्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उहाँको भनाइ छ । उहाँले देशभरका १७ वटा संघीय अस्पतालमा प्रयोगबिहीन अवस्थामा रहेका चार सय ८४ वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।

प्रवक्ता डा. बुढाथोकीले नेपाल सरकारको राष्ट्रिय खोपमार्फत प्रदान गरिने खोप सुरक्षित र प्रभावकारी रहेको दाबी गर्नुभयो । उहाँले सेवा सुविधाको माग राखेर आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच ९ बुँदे सम्झौता भएको पनि बताउनुभयो ।