
काठमाडौं । पर्वतमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पर्वतको बिहादी गाउँपालिकामा भएको बोलेरो जीप दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु १ ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा बुधबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका छ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने सामान्य घाइते भएका एक बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको जनाइएको छ । ब्रेक फेल भएर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्