२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


नयाँ प्रशिक्षक म्याटसँग प्रशिक्षण गर्न आफू उत्साहित छौं : कप्तान लिम्बू


962
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले नयाँ प्रशिक्षक म्याट रससँग प्रशिक्षण गर्न आफ्नो टोली र आफू उत्साहित रहेको बताएका छन् ।

नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एशियन कप छनोटको तयारी शुरु गरेका थिए । सो अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले वर्षभर खेलाडीहरू व्यस्त हुने समय आएको र साथै नयाँ प्रशिक्षकसँग प्रशिक्षण गर्न पाउँदा पनि खेलाडीहरू उत्साहित रहेको बताएका हुन् । प्रशिक्षक म्याटसँग कुराकानीका क्रममा पनि उनी नेपालमा फुटबलप्रति लगाव देखेर धेरै उत्साहित रहेको उल्लेख गरे. । कप्तान किरणले प्रशिक्षकको पनि साफ च्याम्पियनसिप जित्ने र एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने लक्ष्य रहेको उल्लेख गरे ।

टोलीमा केही नयाँ खेलाडीहरू पनि आएको र छोटो तयारी भए पनि सुखद् नतिजाको आशामा रहेको उनको भनाइ छ । प्रशिक्षक म्याटले केही उपाधिहरू भित्राउन राखेको लक्ष्यलाई सकारात्मक बनाउन आफूहरू मिहिनत गर्ने र त्यसका लागि बलिया टोलीसँग म्याच एक्सपोजर गराउन पनि आवश्यक रहेको कप्तान किरण बताउँछन् ।

नेपाली टोलीका डिफेन्डर अनन्त तामाङले हरेक प्रशिक्षकसँग फरक फिलोसेपी र ट्याक्टिस हुने भएकाले नयाँ प्रशिक्षकसँग खेल्न उत्साहित रहेको बताएका छन् । उनले नयाँ प्रशिक्षकसँग झिज्न केही समय लाग्ने पनि उल्लेख गर्दै सकेसम्म लामो समय अवधिका लागि प्रशिक्षक रहँदा टोलीका लागि सहज हुने प्रतिक्रिया दिए । उनले होम ग्राउन्डमा खेल्न पाउँदा धेरै खुशी लाग्ने भए पनि परिस्थितिवस् देश बाहिर खेल्नु परेको बताए । यद्यपि, आगामी खेल भने घरेलु मैदानमा नै खेल्न पाउने आशामा उनी छन् ।

एशिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा बलियो भियतनामसँगै लाओस र मलेसिया छन् । भियतनाम सन् २०१९ मा एसियन कपको क्वार्टरफाइनलसम्म पुगेको थियो । एउटा टोली छनोट हुने यस समूहमा नेपालका प्रशिक्षक म्याटले सुखद् नतिजा दिने लक्ष्य राखेका छन् । प्रशिक्षक म्याट रसले देशका उत्कृष्ट खेलाडीसँग मैदानमा काम गर्न उत्साहित रहेको र उनीहरूसँग काम गर्न पाउँदा खुसी रहेको बताए । उनले बलमा पोजिसन राख्न काम गर्ने र बल विपक्षीमा हुँदा सोही अनुरूप इनटेन्सिपका साथ खेल्ने तयारी गर्ने बताए । उनले धेरै खेलाडी बाहिर जाँदा युवा खेलाडीका लागि अवसर रहेको पनि बताएका छन् ।

उनको प्रशिक्षणमा नेपालले मैत्रीपूर्ण खेलपछि एशियन कपको छनोट खेल्नेछ ।