२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


त्रेतायुगमा सीता रामले खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमाका तीर्थयात्रीले खेले होली


78
Shares

काठमाडौं । त्रेतायुगमा सीतारामले रङ, अबिर दलेर होली खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा उत्सव मनाएका छन् ।

मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका तीर्थयात्रीहरूले एकअर्कालाई रङ, अबिर दल्दै बिहीवार होलीको उल्लास साटेका छन् । संस्कृतिविद्हरूकाअनुसार परिक्रमा डोला कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा रहेको छ ।

मिथिलाञ्चलका विभिन्न मठ–मन्दिरका महन्थ, सामाजिक तथा सांस्कृतिक अभियन्ता, राजनीतिक व्यक्तित्वहरू समेत कञ्चनवनको होलीमा सहभागी भएका छन् । फागुन शुक्ल प्रतिपदाबाट शुरू भएको मिथिला मध्यमा परिक्रमा सप्तमी तिथिमा ध्रुवकुण्ड हुँदै कञ्चनवन पुग्छ । यही स्थानमा इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल रहेको छ ।

जनविश्वासअनुसार इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको थियो । सीतारामले यही स्थानमा होली खेलेको मानिन्छ । जसलाई परिक्रमा सहभागीहरूले रंग–अबिरबाट पुनर्जीवित गर्ने परम्परा कायम राखेका छन् । एकातिर रङ–अबिरको छटा, अर्कोतर्फ होरैया गीतको गुञ्जन, अनि हजारौँ भक्तजनहरूको उल्लासमय सहभागिताले कञ्चनवनको होलीलाई झनै विशेष बनाएको छ । जनकपुरधामको हनुमाननगरबाट सुरू भएको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड हुँदै कञ्चनवन पुगेको हो ।