
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई राज्यका विभिन्न अङ्गमा अधिकारसहित स्थान दिने क्षेत्रमा नेपाल अगाडि रहेको बताउनुभएको छ ।
शनिबार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले राज्यका महत्वपूर्ण पदमा महिलालाई अनिवार्य स्थान दिने बाध्यकारी व्यवस्था अन्य देशमा नभएको जिकिर गर्नुभयो ।
सभापति देउवाले सभामुख र उपसभामुख तथा स्थानीय तहका प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिलाको अनिवार्य व्यवस्था गरेर स्थानसहित अधिकार दिएको बताउनुभयो । उहाँले राज्यका महत्वपूर्ण स्थानमा जिम्मेवारी लिने कार्यमा महिलाहरुले थप आत्मविश्वासका साथ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले घरपरिवार, समाज र राजनीतिको काम गर्न महिलाले धेरै समय खर्च गर्नुपरेको बताउनुभयो । उहाँले राज्यका विभिन्न पदमा महिलाको उपस्थिति अनिवार्य गरिए जस्तै घरायसी कार्यमा महिला र पुरुषले काम गर्ने वातावरण बिस्तारै बन्ने आशय व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्