२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


0
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधवारको बैठकमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले बैठकको प्रारम्भ भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले मन्त्री उपस्थित नभएको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै बैठक अगाडि नबढाउन आग्रह गर्नुभयो ।

प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘सरकार सदनलाई हेपिरहेको छ । सरकार हामी जनप्रतिनिधिलाई एउटा कुरामा होइन हरेक कुरामा हेपिरहेको छ । हाम्रा अभ्यासहरु सरकार मानिरहेको छैन । अहिलेसम्म सदन सुरु हुँदासमेत मन्त्री कोही पनि छैनन् ।’

उहाँले सरकारले हरेक कुरामा प्रतिपक्षी दलहरुलाई हेपिरहेको आरोप लगाउनु भयो । लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भएकाले बैठक १५ मिनेटपछि बस्नेगरी सथगित भएको घोषणा गर्नुभयो । —न्युज एजेन्सी नेपाल