१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न


182
Shares

काठमाडौं । १५ दिवसीय मिथिला मध्यमा परिक्रमाअन्तर्गत अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न भएको छ ।

लाखौं श्रद्धालुहरूको सहभागितामा शुक्रवार बिहान सम्पन्न भएको यो परिक्रमा मिथिलाको महत्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ । मिथिला मध्यमा परिक्रमा गर्न नसकेका श्रद्धालुहरू अन्तगृह परिक्रमामा सहभागी भएका थिए ।

धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै शुरु भएको मध्यमा परिक्रमा बिहीवार साँझ जनकपुरधाम फर्किएको थियो । फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौं श्रद्धालुले जनकपुरधामको १५ किलोमिटर वरिपरिको क्षेत्र परिक्रमा गर्दै अन्तगृह परिक्रमा गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार अन्तगृह परिक्रमा गरे १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुन्छ । यो यात्रा सकेर जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्व विधिवत रूपमा शुरु भएको मानिन्छ ।

धर्मशास्त्रहरूमा वृहत, मध्यमा र अन्तगृह गरी तीन परिक्रमाको उल्लेख गरिएको पाइन्छ । मध्यमा परिक्रमा गर्न नपाएकाहरू अन्तगृह परिक्रमामा सहभागी हुने गर्दछन् ।

परम्पराअनुसार अन्तगृह परिक्रमा हुने दिन जनकपुरधाम नगर क्षेत्रमा माछा–मासु बिक्रीमा प्रशासनले दुई दिनसम्म रोक लगाउने गर्दछ । यसै कारण जनकपुरधाम र वरिपरिका क्षेत्रहरूमा होली पर्व शनिवार मात्रै मनाइनेछ । मधेश प्रदेशका अन्य कतिपय जिल्लाहरूमा आज (शुक्रवार) नै होली मनाइँदैछ ।