२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

नेकपा एसले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम


611
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले जनसरोकारका सवालमा चैत्र २-६ सम्म मातहत कमिटीहरुमा छलफल गर्ने भएको छ ।

आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको पार्टीका महासचिव घनश्याम भुसालले बताउनुभयो । उहाँले चैत्र ७-१५ सम्म केन्द्रिय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग संवाद तथा सुझाव संकलन गर्ने बताउनुभयो ।

महासचिव भुसालले चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने र वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने र वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेको छ ।

यो अभियान बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरुका बीच सहकार्य र एकताको अभियान भएको जिकिर गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक समस्या समाधान गर्न नसक्ने आरोप लगाएको छ । सत्ता गठबन्धनले नालायकीपन देखाएको आरोप लगाउँदै यसबारेमा जनतालाई सुचित गर्न जरुरी भइसकेको ठहर गरेको छ । रोजगारी र सुशासन राज्यको मुद्दा नबनुन्जेलसम्म आन्दोलन जारी रहने जिकिर गरेको छ ।