
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बोर्डमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ ।
शुक्रबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक काफ्ले प्रवाह गर्ने स्वास्थ्य सेवा सरल, सुलभ र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बोर्डले दिने सेवा प्रभावकारी बनाउन सुशासनको महत्वपूर्ण भुमिका रहने भएकाले सुशासन कायम गर्न लागि पर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा सर्वव्यापी स्वास्थ्य सहभागिता सुनिश्चित गर्ने दाबी गर्नुभयो ।
कार्यकारी निर्देशक डा. काफ्लेले सात सय ५३ वटै पालिकाबाट बिस्तारित स्वास्थ्य बीमाबाट लाखौँ सर्वसाधारण लाभान्वित भएको बताउनुभयो । सेवा प्रवाहमा देखिएका समस्याहरु बोर्डले नीतिगत निर्णय गरेर समाधान गर्ने उहाँको भनाइ छ । उहाँले सेवा प्रवाहका लागि देखिएका आर्थिक समस्याहरु सरकारसँग सहकार्य गरेर समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यकारी निर्देशक डा. काफ्लेले अहिले भइरहेको स्वास्थ्य सेवाको प्याकेजमा पुनरावलोकन गर्ने बताउनुभयो । सेवा प्रदायकलाई आश्वस्थ पारेर स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थागत रुपमा अगाडि बढाउने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्