
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले महिलालाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता भएको बताउनुभएको छ ।
आइतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो । उहाँले नेपालको औद्योगिक एवं आर्थिक क्षेत्रको समृद्धिमा महिलाको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै महिलाको भुमिका थप बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले नेपालमा महिला उद्यमशिलताको विकास सकारात्मक रुपमा बढिरहेको र नेपालका महिला उद्यमीहरुले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला लगायत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको बताउनुभयो । सानासाना व्यवसायमार्फत भएपनि मुलुकको अर्थतन्त्रमा महिलाको योगदान बढ्दै गइरहेको अध्यक्ष अग्रवालको भनाइ छ ।
देशले अवलम्वन गरेको नीतिगत व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आर्थिक विकासको महत्वपूर्ण आधार महिला पनि हुन् भन्नेकुरा अघि बढाउन आवश्यक रहेको अध्यक्ष अग्रवालले बताउनुभयो । उहाँले नीति निर्माणमा महिलाको सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष अग्रवालले भन्नुभयो, ‘नेपालमा महिला उद्यमशीलताको विकास सकारात्मक रुपमा बढिरहेको छ । नेपालका महिला उद्यमीले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकलालगायत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका छन् । साना साना व्यवसायमार्फत भएपनि मुलुकको अर्थतन्त्रमा महिलाहरुको योगदान बढ्दै गइरहेको छ ।’
अध्यक्ष अग्रवालले राज्यले महिलालाई थप प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । सार्वजनिक निकायमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । -न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्