
काठमाडौं । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो ११.१५ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि दफावार छलफल र पारित गर्न प्रस्तुत गर्नुहुनेछ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ दफावार छलफल गर्दै पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
यसैगरि राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।
मन्त्री भट्टराईले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने र तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्