४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


नागरिक लगानी कोषहरुको रकम उत्पादनमुलक क्षेत्रमा प्रयोग गरौँ : अध्यक्ष ढकाल


520
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले कोषको ध्यान उक्त कार्यतर्फ जानुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरुको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावरलगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कोषहरुको करिव ५२ प्रतिशत भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायत अरु पनि कोषहरु रहेको छ । करिव ५२ प्रतिशत भन्दा बढी जुन फण्ड छ, त्यो बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको कुरा गर्नुभयो । यो अहिलेको परिस्थितिलाई लगानी विविधिकरणको लागि नयाँ नयाँ पोलिसीहरु पनि नयाँ नीतिहरु ल्याएका छौँ भन्नुभएको छ । जुन निकै सह्रानीय छ । …… सञ्चय कोषको पनि त्यति नै ठूलो फण्ड छ । तर हामी खासगरी रोजगारी सिर्जना, पूर्वाधार बनाउने कुराहरु, आम पब्लिकलाई सर्भिस दिनेकुराको त्यत्तिकै खाँचो छ । यो फण्डको प्रयोग गर्न सकिरहेका छैनौँ । ’

अध्यक्ष ढकालले जम्मा भएका फण्डहरु विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो । -न्युज एजेन्सी नेपाल