
काठमाडौं । त्रिभूवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ ।
मंगलवार बिहानैबाट आङ्गिक तथा सामुदायिक क्याम्पसमा निर्वाचन शुरु भएको हो । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते हुने तय भएको छ ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।
विश्वविद्यालय क्याम्पसमा छ हजार १४६ मतदाता छन् । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् ।
उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ । सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । राष्ट्रिय मानव अधिकार आयोगले स्ववियु निर्वाचनको अनुगमन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्