६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025

एएफसी एशियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं : किरणकुमार लिम्बू


689
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले सिंगापुरसँग हुने मैत्रीपूर्ण फुटबल र एएफसी कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

नेपालले आगामी मार्च २१ गतेदेखि मैत्रीपूर्ण खेल र त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एशियन कप क्वालिफायर खेल्दैछ ।

त्यसका लागि बिदार्इको अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणले अवे खेल हुने भएकाले केही असहज हुने भए पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् । उनले अहिले नै यो गर्छौं र उ गर्छौं भन्नुभन्दा पनि राम्रो खेल्ने उल्लेख गर्दै आफ्नो टोलीमा धेरै अनुभवी खेलाडी नभए पनि क्षमतावान् रहेको बताएका छन् । उनले टोली सन्तुलित रहेको र चोटबाट अनुभवी खेलाडी रोहित चन्द पनि फर्कनु सुखद पक्ष रहेको बताएका छन् ।

समग्रमा आफ्ना टोली सन्तुलित रहेकाले राम्रो नतिजाको आशामा उनी छन् । छोटो तयारीका बावजुल सिंगापुरसँगको मैत्रीपूर्ण खेल छनोटका लागि राम्रो माध्यम बन्ने उनको विश्वास छ । कप्तान किरणले नयाँ प्रशिक्षकको प्रशिक्षणमा धेरै राम्रो परिवर्तन देख्न बताएका छन् । साफ अगाडि लगातार खेल हुनु टोलीका लागि सुखद पक्ष रहेको उनी बताउँछन् ।

नेपाली टोलीका प्रशिक्षक म्याट रसले टोलीमा धेरै क्षमतावान खेलाडी रहेकाले खेलका लागि उत्साहित रहेका बताएका छन् । टोलीमा अनुशासित र सतप्रतिशत कमिटमेन्ट दिने खेलाडी रहेकाले पनि आफू राम्रो नतिजाको आशामा रहेको उनको विश्वास छ । ३० दिनसम्म खेलाडीसँग प्रशिक्षणमा रहेपछि राम्रो खेलाडी छनोट गरेको उनको भनाइ छ । टेक्निकल राम्रा खेलाडी रहेको यो युवा टोलीबाट सकरात्मक नतिजाको अपेक्षामा आफू रहेको उनले बताए ।

मंगलबार नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले बिदाइ गरेका थिए ।