
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले पाँच वर्ष भित्र विपद् उत्थानशिल नेपाल बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
नेपाल बहुप्रकोपिय विपद्को जोखिममा रहेकाले विपद् उत्थानशिल बनाउन कार्य ढाँचालाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको पनि कार्यकारी प्रमुख भट्टले उल्लेख गर्नुभयो ।
मंगलबार कार्यकारी प्रमुखको पदभार सम्हाल्नुभएका भट्टले ‘डिजास्टर रेजिलेन्स नेपाल’ बनाउने अभियानमा प्रतिवद्धत रहेको बताउनुभएको हो । प्राधिकरणलाई स्थानीय तहसम्म बलियो बनाउने गरी आफूले काम गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।
स्थानीय सरकारलाई बलियो बनाउन टोल टोलमा स्वयंसेवक तयार गर्न प्राधिकरणले शुरु गरेको कामलाई बिस्तार गर्दै लैजाने पनि उहाँले बताउनुभयो । ऐनले निर्देशन गरेको र दिएको अधिकारक्षेत्रभित्रै रहेर आफूले संयोजनकारी भुमिका निर्वाह गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
आफूले विपद् पूर्वतयारीको विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाउने कार्यकारी प्रमुख भट्टले उल्लेख गर्नुभयो । उहाँले आवास पुनःनिर्माणको कामलाई सिधै लाभग्राहीको खातामा रकम जम्मा हुनेगरी काम गर्ने पनि बताउनुभयो ।
कार्यकारी प्रमुख भट्टले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्ति गरेको हो । उहाँले हिजो मंगलवार नै आफ्नो कार्यभार सम्हालिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्